Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा


624
Shares

एजेन्सी । काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुग्नुभएको छ । उक्त अदालतले मानहानी मुद्दामा उहाँलाई दोषी ठहर गर्र्दै तल्लो अदालतले गरेको दुई वर्षको जेल सजायको फैसलालाई सदर गरेको थियो ।

सुरत अदालतले नेता गान्धीको पुनरावेदन अस्वीकार गरेपछि उच्च अदालतमा न्यायको याचना गर्न निवेदन दर्ता गरिएको छ । नेता गान्धीका वकिल पङ्कज चम्पानेरीले उच्च अदालतमा निवेदन दर्ता गरिएको जानकारी दिँदै त्यससम्बन्धमा थप विवरण प्रदान गर्न अस्वीकार गरेका छन् ।

सन् २०१९ मा कर्नाटक राज्यमा भएको चुनावी सभामा नेता गान्धीले मोथी थरलाई लिएर गर्नुभएको टिप्पणीले आफूहरूको अपमान भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा) का सांसद पूर्णेश मोदीले गान्धीविरुद्ध मानहानी मुद्दा दायर गर्नुभएको थियो ।

नेता गान्धीले राजनीतिक कार्यक्रममा भाषण गर्दा मोदी थरबारे आफूले गरेको टिप्पणी अपमानजनक नभएको र त्यसलाई असान्दर्भिकरुपमा उचालेर मुद्दा दायर गरिएको तर्क गर्दै आउनुभएको छ । मानहानी मुद्दामा सुरत अदालतबाट दोषी ठहर भएपछि उहाँको लोकसभा सदस्य पद खारेज भएको छ । उच्च अदालतले पनि तल्लो न्यायलयको फैसलालाई सदर गरेमा गान्धी आगामी आठ वर्षसम्म संसद् सदस्यको उम्मेदवार बन्नबाट वञ्चित हुनुहुनेछ ।