
काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरले पुराना पुस्तकालयहरुको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उहाँले कानूनको अभावमा पुस्तकालयहरुले समस्या भोगिरहनु परेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनका लागि तत्काल आवश्यक कानून बनाउन सरकारसँग माग गर्नुभएको हो । सांसद गैरले पुस्तकालयको उचित व्यवस्थापनका लागि कानून बनाउने गरी तत्काल संसदमा विधेयक पेश गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो,-‘यो सार्वजनिक पुस्तकालय संचालन सम्बन्धि नियम, कानून, ऐन नहुँदा पुस्तकालयहरुले भोग्नु परेको समस्या एकातिर छ । पुस्तकालयको अभावले पढने बानी पनि समाप्त हुँदैछ । र पुस्तकहरु पनि हराउँदै गइरहेका छन । पुस्तक प्राप्त गर्न पनि छोडिएको छ । त्यसकारण यो पुराना सार्वजनिक पुस्तकालयहरुलाई संरक्षण गर्न तत्काल कानून बनाउन र नयाँ पुस्तकालयहरु खोल्नका लागि ती सबै पुस्तकालयहरुको संचालनको, व्यवस्थापनको विषयमा अगाडि बढनका लागि तत्काल ऐन सदनमा प्रस्तुत गरेर व्यवस्थित गर्नेतर्फ म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’
पुस्तक पढने संस्कृति नै हराउन लागि रहेका बेला सरकारले पुस्तकालयको व्यवस्थापनमा ध्यान दिनुपर्ने पनि सांसद ठाकुरले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्