Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कोरोनाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह


299
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको बताउनुभयो ।

उहाँका अनुसार खोप नलगाएका मानिसमा खोप लगाएको मानिसको तुलनामा सङ्क्रमण भएपछि मृत्यु हुने सम्भवाना १० गुणा बढी हुने गरेको छ । सहप्रवक्ता डा. अधिकारीले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई सङ्क्रमणविरुद्धको बुस्टर डोजको खोप लगाउन आग्रह गर्नुभएको हो ।

आइतबार ८१ सङ्क्रमित र सक्रिय सङ्क्रमित तीन सय ७० पुगेका छन् । नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ । शून्यमा झरेको सङ्क्रमण नेपाल र भारतको खुला सिमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो । अहिले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिरहेका छन् ।

काठमाडौंमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पतालमा नियमित पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज खोप लगाइरहेका छन् ।