
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि गर्ने भएको तर्क गर्नुभयो । मुलुकको आर्थिक वृद्धिदर बढाउन सबैको सहयोग आवश्यक रहेको भन्दै उहाँले पछिल्लो समय सरकारले सबै आयोजना बनाउने भनेर स्रोत सुनिश्चिता बिना आयोजना घोषणा गर्ने गरेको जिकीर गर्नुभयो ।
अर्थमन्त्री महतले बैंकको ब्याजदर कम भएको अवस्थामा ऋण लिएका ऋणीहरुले बैंकको उच्च ब्याजदर भएको बेला कर्जाको किस्ता तिर्न नसक्दा अर्थतन्त्र चलायमान बनाउन समस्या पैदा भएको बताउनुभयो । बैंकको उच्च ब्याजदर कम गर्ने विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच निरन्तर छलफल भइरहेको उहाँको भनाई थियो ।
सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा २ खर्ब तरलता भएपनि बैंकको ब्याजदर उच्च भएको कारण कर्जा प्रवाह हुन नसकेको बताउनुभयो । सरकार र राष्ट्र बैंकले नीतिगत निर्णय गरी बैंकको ब्याजदर घटाएर कर्जा प्रवाहको वातावरण बनाउन आवश्यक रहेको भन्दै उहाँले स्थानीय तहमा गएको रकम ऋणपत्रलाई सिडि रेसियोमा गणना गर्न पाउने समय अवधि थप नभए बैंकमा रहेको २ खर्बको तरलता ५० अर्बमा झर्नसक्ने दावी गर्नुभयो ।
उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रले भोगेको समस्याको कारण सरकारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्