-राजु चौधरी/ईमेज:
नवलपुर । नवलपुर जिल्लाको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा दीर्घरोगीहरुको आकर्षण बढ्दै गएको छ ।
देशविदेशमा उपचार गर्दागर्दै निराश भएकाहरु पनि प्राकृतिक चिकित्सालयमा पुग्न थालेका छन् ।
प्राकृतिक चिकित्सा पद्धतिलाई आधुनिक उपचार पद्धतिले केही ओझेलमा पारेपनि यसप्रतिको विश्वास र भरोसा उत्तिकै देखिन्छ ।
उपचार गर्दागर्दै हैरान भएका र समस्या नसुल्झिएकाहरु पनि प्राकृतिक चिकित्सालयमा पुगेर निको भएका कैयौँ उदाहरण पाइन्छन् ।
दाङकी युरेसिया रिजाल आफैं नर्स हुन् । ढाडको समस्याको उपचारका लागि उनी कैयौँ अस्पताल चहारिन् तर समस्या ज्यूँका त्यूँ नै रह्यो । अन्ततः प्राकृतिक चिकित्सालयको सहारामा पुगिन् ।
आफैंले कैयौं बिरामीलाई औषधि दिएर उपचार गर्दै आएकी उनी अहिले भने प्राकृतिक उपचारमा बढी विश्वास गर्छिन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका वडा नं.१६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा अहिले ९० जना भन्दा बढी बिरामीले टाढाटाढाबाट आएर आवासीय रुपमा उपचार गरिरहेका छन् ।
यहाँको उपचार पद्धतिमा उनीहरु सन्तुष्ट नै देखिन्छन् । प्राकृतिक चिकित्सामा बिनाऔषधि,बिना शल्यक्रिया पृथ्वी जल अग्नी वायु र आकाशको प्रयोग गरी उपचार गरिन्छ ।
साथै फिजियो थेरापी, हेलियो थेरापी र म्यानुकेलिनिक थेरापी समेत गरिन्छ । र बिरामीलाई अर्गानिक खानेकुरा आफैँ उत्पादन गरी खुवाउने गरिन्छ ।
विरामीहरुलाई जीवनशैली सिकाउनुका साथै प्राकृतिक रुपमा सबै उपचार हुने गरेको डा. विनोद पौडेल बताउँछन् ।
सफल उपचारका कारण चिकित्सालयमा दिनानुदिन बिरामीको संख्या थपिंदै गएको छ ।
२ सय पचास बिरामीलाई राख्न सकिने भएपनि उपचार युनिटको असुविधाका कारण एकैपटक उपचार गर्न समस्या भएको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटको भनाइ छ ।
प्रचार गर्दागर्दै हतोत्साहित बनेका र जीवनप्रति निराश बनेकालाई आशाको केन्द्र बन्दै गएको चिकित्सालयलाई अझ उन्नत र व्यवस्थापन गर्न सबैको पहल आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्