Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


उपनिर्वाचनका लागि ६ संस्थालाई पर्यवेक्षण गर्न अनुमति


78
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति प्रदान गरेको छ ।

निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा (२) बमोजिम जाँचबुझ गर्दा ६ वटा संस्थाहरुले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकाले सोही निर्देशिकाको दफा १० को उपदफा (१) बमोजिम पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएकाे हाे ।

उहाँका अनुसार आयोगमा ७ वटा निवेदन आएपछि एउटाको हकमा प्रक्रिया पूरा नगरेकाले अनुमति दिइएको छैन । चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।

ति संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिश भइ आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइने प्रवक्ता पौडेलले बताउनुभयाे ।

आगामी वैशाख १० गते आइतबार बारा-२, तनहुँ-१ र चितवन-२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।