Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


अयोध्यामा कालीगण्डकीको देवशिला हेर्नेको भीड


0
Shares

म्याग्दी । अयोध्यामा कालीगण्डकीको देवशिला दर्शन, पूजा र अवलोकनका लागि दैनिक हजारौंको भीड लाग्ने गरेको छ ।

भगवान रामको बालवयको मुर्ति निर्माणका लागि गत माघ १२ गते म्याग्दीको गलेश्वर क्षेत्रस्थित कालीगण्डकी नदीबाट भगवान रामको जन्मभूमि भारतको अयोध्या पठाइएका दुई वटा देवशिला अहिले अयोध्याको आकर्षण बनेका हुन् ।

अहिले ती शिलाहरु अयोध्यास्थित रामजन्मभूमि कार्यशालाको चौराहादेखि ५ सय मिटर दुरीमा सुरक्षाकर्मी तैनाथ गरेर राखिएको छ । श्रीराम जन्मभूमी कार्यशाला चौराहामा नेपालको कालीगण्डकी नदीबाट लगिएको देव शिलासहित भारतको उडिसा, राजस्थान, जयपुर, दक्षिणभारत लगायतका क्षेत्रबाट लगिएका शिलाहरु पनि राखिएका छन् ।

ती शिलाहरुमध्ये कुन शिलाबाट भगवान रामललाको बाल स्वरुपको मूर्ति बनाइने भन्ने विषयमा अझैसम्म पनि अन्योल रहेको छ । भारतका केही साधु सन्त र विद्धानहरुले नेपालबाट ल्याइएको शिला करोडौं वर्ष पुरानो श्रीहरि शिला भएको र उक्त शिलालाई भगवानको अंश मानेर पूजिने हुँदा छिनालेर वा अन्य हतियार चलाएर फोड्न नहुने बताएका छन् ।

यदी ती देव शिलालाई फोडेमा ठूलो अनिष्ट हुने भन्दै ती शिलालाई यथावतरुपमा नै राखेर भगवान श्रीरामका समेत गुरु मानिने भगवान हरि (विष्णु) को पूजन गरिनु पर्ने अडान राखेपछि ती शिलाबाट भगवान रामको वालवयको मूर्ति बनाउने वा नवनाउने भन्ने विषय अन्योलमा रहेको अयोध्यास्थित बढी छाउनीका नेपाली साधु दास केदारनाथले बताउनुभयो ।