
बिराज रोस्यारा
धनगढी, भदौ १७ । कैलालीको धनगढी उपमहानगरपालिकाबाट भन्सार छलेर ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका–९ बाट भन्सार छलेर ल्याउदै गरेका कपडा र मेसनरी सामान सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गरिएका कपडाहरुमा सानो तथा ठूलो साइजका मोदी कोट १ हजार ३ सय ३५ थान, हाइड्रोलिक ब्याक ३ थान, जेसिबी ब्रेक पाइप १० थान लगायतका उपकरण बरामद गरेको हो ।
उपमहानगरपालिकाको वडा नम्बर ९ जुगेडा भन्ने ठाउँबाट से१झ १३३ नम्बरको बोलेरो जिपबाट समान ओसार्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद भट्टले बताए ।
धनगढीस्थित सशस्त्र प्रहरी बल ३४ नम्बर गणको टोलीले न्यूनतम ७ लाख ४४ हजार मूल्यका कपडा, ५० हजार बरावरका उपकरण, ५ लाख मुल्यको बोलेरो गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक भट्टले बताए ।
कैलालीमा सिमा सुरक्षाका लागि दुईवटा मात्रै बिओपी भएकाले तस्करी नियन्त्रणमा समस्या भएको बताउँदै उनले स्थानीयले सहयोग नगर्दा पनि तस्करी बढेको बताए ।
भारततिर प्रत्येक ५ किलोमिटरमा बिओपी स्थापना भए पनि कैलालीमा १०१ किलोमिटरमा जम्मा दुईवटा मात्रै बिओपी रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्