Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


राहदानी विवादमा लामिछानेलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिट


143
Shares

काठमाडौं । राहदानी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। यसअघि लामिछानेको नागरिकता विवादमा रिट दिएका अधिवक्ता युवराज पौडेलले नै उनलाई राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन्। सर्वोच्च प्रशासनले रिट निवेदनको एउटा बुँदा सच्याउन आग्रह गरेकाले दर्ता भने नभएको पौडेलले बताए।

‘रिटको ८ नम्बर बुँदा हटाएर ल्याउन सर्वोच्च प्रशासनले आग्रह गर्‍यो। त्यो बुँदामा रवि लामिछानेको नागरिकता प्रमाणपत्र पुनः प्राप्तिको विषय समावेश गरेको थिएँ,’ पौडेलले भने, ‘यसमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना दिन नमानेको र राष्ट्रिय सूचना आयोगमार्फत प्रक्रियामा रहेकाले यो विषय हटाएर ल्याउन सर्वोच्च प्रशासनले भनेको छ।’ रिट सोमबार दर्ता हुने दाबी उनको छ।

पौडेलले आइतबार पेस गरेको रिट निवेदनको बुँदा नम्बर ८ मा लामिछानेले नागरिकता ऐन, २०६३ को दफा ११ र नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिमको प्रक्रिया पूरा गरी अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरी नेपाली नागरिकता पुनः प्राप्त गरेका हुन्-होइनन् भन्ने प्रश्न उठाइएको छ। उक्त बुँदामा यस विषयमा सम्पूर्ण दस्तावेज सर्वोच्चमा मगाएर यकिन नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेशको माग गरिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।