३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


रास्वपा छिट्टै देशकै ठूलाे पार्टी बन्छ : रवि लामिछाने


988
Shares

‍काठमाडाैं ।‍ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले आफ्नो दल छिट्टै सबभन्दा ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गर्नुभयो । आफूहरुले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएको भन्दै उहाँले आफ्नो पार्टीमा हजारौं क्षमतावान मानिस जोडिन आँटेको यो जनाउ घन्टी मात्र भएको टिप्पणी गर्नुभयो ।

सोही अवसरमा चुनावको मुखमा कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका डा. स्वर्णिम वाग्लेले नेपालमा पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको टिप्पणी गर्नुभयो । पुराना पार्टीहरुमा टिकटको किनबेचका कारण कुशासन बढेको तर्क गर्दै उहाँले खर्चिलो चुनाव र महंगो टिकटको खर्च उठाउनेतिर ध्यान जाने भएकोले समृद्धि छायाँमा परेको बताउनुभयो ।

डा. वाग्लेले सुशासनबाट मात्रै आर्थिक फड्को हान्न सकिने भन्दै उहाँलले जनगणनाको नतिजाले पनि नेपालमा जनसांख्यिक लाभ रहेको देखिएको र यही अवसरमा परिणाममुखी राजनीति गर्नुपर्नेमा जोड दिनुभयो ।

बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका उमेदवार रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रविरुद्ध सबै एक हुनुको विकल्प नरहेको बताउनुभयो । उहाँले सरकारको भागबन्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिनुपरेको जिकिर गर्नुभयो । सरकारको भागबन्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको उहाँको भनाइ छ ।