काठमाडौं, भदौ १७ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले स्थापनाको ५९औं बार्षिकोत्सव मनाएको छ ।
सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्य र नवजात शिशुको सेवाका लागि भनेरै यस अस्पतालको स्थापना विक्रम सम्वत् २०१६ मा गरिएको थियो । अस्पतालका अध्यक्ष लता बज्राचार्यले गर्भवती नेपाली आमाको सेवामा अस्पतालले कुनै कसर बाँकी नराखेको बताइन् ।
आगामी दिनमा सेवालाई अझै विस्तारित र परिस्कृत बनाउने प्रतिवद्धता जनाउँदै उनले आफ्नो स्वास्थ्य र नवजात शिशुको उपचार गर्न जनचेतना बढ्दै गएको पनि बताइन् ।
कार्यक्रममा स्त्रीरोग विशेषज्ञहरुले अस्पतालमा गुणस्तरीय सेवा सञ्चालनमा सुधार आए पनि समयानुकुल प्रविधि जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा लामो समयदेखि प्रसूति सेवामा संलग्न कर्मचारीलाई अस्पतालले सम्मान गरेको थियो । वार्षिक रुपमा झण्डै १५ हजार शिशु जन्मिने गरेको अस्पतालले जनाएको छ । ४० वटा शैय्याबाट सेवा थालेको अस्पतालमा अहिले ३१० शैय्या छन् ।
प्रतिक्रिया दिनुहोस्