
काठमाडाैं । नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले यसअघि विसं २०६८ मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, विसं २०७२ मा गृहमन्त्री र २०७४ मा वन तथा वातावरणमन्त्रीको जिम्मेवारी पाइसक्नुभएको छ ।
गत मङ्सिर ४ गतेको निर्वाचनमा जाजरकोट जिल्लाबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा मन्त्री बस्नेत निर्वाचित हुनुभएको थियो । उहाँको जन्म विसं २०२७ मा जाजरकोट जिल्लाको भेरी नगरपालिका–१, कालेगाउँमा भएको थियो ।
तीन दशकदेखि राजनीतिमा आबद्ध मन्त्री बस्नेतको राजनीतिक यात्रा भने विसं २०४१ मा अनेरास्ववियुबाट भएको थियो । उहाँले अनेरास्ववियुको विद्यालय एकाइ समिति र जिल्ला समिति सदस्यबाट राजनीतिक यात्रा सुरु गर्नुभयो ।
विसं २०४७ मा नेकपा (मशाल) को सदस्यता जिल्ला समन्वय समिति सदस्य, क्षेत्रीय ब्युरो सदस्य हुँदै नेकपा (एकता केन्द्र) र विसं २०५५ मा माओवादी केन्द्रीय सदस्य बन्नुभयो । उहाँ पार्टीभित्र पोलिटब्युरो सदस्य, एमाओवादी स्थायी समिति सदस्य हुँदै विसं २०७५ मा नेकपा (एमाले) को स्थायी समिति सदस्य बन्नुभयो । उहाँले राजनीतिक आन्दोलनका क्रममा १२ वर्ष भूमिगत जीवन बिताउनुभएको थियो ।
पहिलो पटक विसं २०७० को संविधानसभा सदस्यका रूपमा उहाँको संसदीय यात्रा सुरु भएको थियो । उहाँ दोस्रो पटक विसं २०७४ को निर्वाचनमा जाजरकोट–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।
प्रतिक्रिया दिनुहोस्