
काठमाडौं, भदौ १७ । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले काठमाडौंको आनन्दकुटी विहारको अवलोकन गरेका छन् ।
चौथो बिमस्टेक सम्मेलनमा भाग लिन काठमाडौं आएका उनले निर्माणाधीन विहारको स्थलगत अवलोकन गर्नुका साथै वस्तुगत जानकारी पनि लिए ।
२०७२ सालको भूकम्पमा भत्किएको आनन्दकुटी विहारको पुनर्निर्माणको जिम्मा श्रीलंकाले लिएको छ । विहारका प्रतिनिधिका अनुसार करिब ८० प्रतिशत काम सकिएकाले अबको ६ महिनामा विहार तयार हुनेछ ।
विसं. २००० मा पहिलोपल्ट निर्माण गरिएको आनन्दकुटी विहार स्वयम्भूको दक्षिण क्षेत्रमा छ ।
यसअघि आजै उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयको निरीक्षण गर्दै सार्कलाई गतिशील तुल्याउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
महासचिवसहित आठवटै देशका निर्देशकसँगको अन्तरक्रियामा उनले सदस्य मुलुकबीच भ्रातृत्वको भावना प्रवर्द्धन गर्दै सार्कका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि लाग्नुपर्ने बताए ।
हिजो बुद्ध जन्मस्थल लुम्बिनी पुगेर भगवान बुद्ध र माता मायादेवीको पूजा आराधना गरेका उनी आजै स्वदेश फर्कंदै छन् ।
प्रतिक्रिया दिनुहोस्