२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा


143
Shares

कपिलवस्तु । कपिलवस्तुकाे कृष्णनगर नगरपालिकादेखि भैरहवा मेडिकल कलेजका लागि निःशुल्क बस सेवा सञ्चालनमा आएको छ ।

नगरप्रमुख रजत प्रताप शाहले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लागि शुक्रबार निःशुल्क बस सेवाको उद्घाटन गर्नुभएकाे हाे । प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार गरी ३ दिन बिरामीहरुले बस सेवा पाउने भैरहवा मेडिकल कलेजले जनाएको छ ।

नगरपालिकाको प्रतिनिधित्वमा भैरहवा मेडिकल कलेज अस्पताले निःशुल्क बस सेवा सञ्चालन गरेकाे हो। कृष्णनगर बजार हुँदै बहादुरगञ्ज, मोहन मिष्ठान भण्डार, छोट्की तौलिहवा, कोदहा, गोपालपुर, पिपरहवा, बाणगंगा पुल, बर्गदा, जुगनी, मैडहवा, बरईपुरा, राजपुर, जिगिना र तौलिहवा अस्पताल हुँदै भैरहवा मेडिकल कलेज बस जाने जनाइएको छ ।

मेडिकल कलेज जाने बस कृष्णनगर नगरपालिकाको गेटबाट छुट्ने भएकाे छ । कृष्णनगरदेखि बस बिहान ८ बजे छुट्ने र भैरहवा मेडिकल कलेज अस्पतालबाट बेलुका ४ बजे छुट्ने भएकाे छ । नगरप्रमुख शाहले यस क्षेत्रका सर्वसाधारण बिरामीहरुलाई मध्येनजर गर्दै भैरहवा मेडिकल कलेजको निःशुल्क बस सेवा सञ्चालन भइरहेको हुँदा अस्पतालसम्म जाने र आउने बिरामीहरुलाई नगरपालिकाको पहलमा बस सुविधा दिएको बताउनुभयाे ।

बस सेवा सञ्चालनले बिरामीलाई उपचारका लागि आउने जाने समस्याबाट मुक्ति दिलाउने उदेश्यकाका साथ बस सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयाे । उहाँले अति विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएकाे छ ।

भैरहवा मेडिकल कलेजका प्रशासन संयोजक तेजप्रसाद केसीले कलेजले दिने सेवा सुविधाहरु बिरामीलाई छिट्टो–छरितो रुपमा उपलब्ध गराउने बताउनुभयाे । अतिविपन्न र गरिब परिवारका बिरामीलाई मेडिकल कलेजबाट छुट हुने सुविधा दिइने पनि उहाँले बताउनुभयाे ।