१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


चिकित्सक संघले आज डाक्टरहरुको लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गर्ने


0
Shares

काठमाडौं । नेपाल चिकित्सक संघले आज डाक्टरहरुको प्रमाणपत्र (लाइसेन्स) मेडिकल काउन्सिलमा फिर्ता गर्ने भएको छ ।

१ भदौबाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले आज देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्न आह्वान पनि गरेको छ ।

आज नै १० बजे माइतीघर मण्डलामा भेला हुने र मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाइने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन भनेको थियो ।

अहिलेसम्म ३ हजारभन्दा बढी चिकित्सकको प्रमाणपत्र जम्मा भएको र त्यसलाई काउन्सिलमा बुझाइने उनले बताए ।

यसअघि भदौ १ मा नै चिकित्सकले प्रमाणपत्र काउन्सिलमा बुझाउने बताएका थिए । तर, सरकारले मुलुकी ऐन संशोधनको आश्वासन दिएपछि रोकिएको थियो ।

तर कानुन संशोधनका प्रक्रिया नै शुरु नगरेपछि चिकित्सकहरुले प्रमाणपत्र बुझाउन लागेका हुन् ।

बिहीबारदेखि भने देशभरका आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने घोषणा पनि चिकित्सक संघले गरेको छ ।

मुलुकी फौजदारी संहितामा उपचारका क्रममा लापरवाहीले विरामीको मृत्यु भएमा ज्यान मुद्दा चलाउने प्रावधान राखेपछि चिकित्सकहरु आन्दोलित भएका हुन् ।

उनीहरुले त्यसलाई संशोधन गरेर लापरवाही भए नभएको विज्ञ समूहले अध्ययन गर्ने ब्यवस्था थप गर्न माग गरेका छन् ।