
काठमाडौं । दुग्ध उत्पादक किसानले समयमा दूध बिक्री गरेको रकम पाउन सकेका छैनन् । दूध उत्पादनको लागत मूल्य बढ्दै गएको र समयमा दूध बिक्री गरेको रकम पाउन नसक्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको किसानको गुनासो छ ।
काभ्रेका किसान रामप्रसाद सापकोटाले दुुई महिनादेखिको रकम नपाउँदा पशुलाई दाना खरिद गर्न कठिन भएको बताउनुभयो । ‘घरखर्चदेखि बच्चाबच्ची पढाउने दूध बचेको पैसाले हो, समयमा रकम नपाउँदा व्यवहार चलाउन धेरै नै समस्या भएको छ,’ उहाँले भन्नुभयो । दूध बिक्री गरेको एक लाख ५० हजार रूपैयाँ पाउन बाँकी रहेको उहाँले जानकारी दिनुुभयो ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष अमर कुँवरले मुलुकभर दुग्ध विकास संस्थानबाट दुई महिनाको ४० करोड रूपैयाँ र निजी डेरी उद्योगबाट तीन महिनाको रकम पाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
‘बजारमा चोकर दाना र परालको मूल्य बढेको छ, पशुआहारको मूल्य बढ्दा किसानको लागत बढेको र समयमा दूध बिक्री गरेको रकम नपाउँदा किसान व्यवसायबाट पलायन हुने अवस्था आइसकेको छ,’ उहाँले भन्नुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्