Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


ठेकेदारको लापरवाहीले स्वास्थ्यचौकी अलपत्र


169
Shares

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकाका स्थानीयले स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइमा उपचार गराउँदै आएका छन् । यहाँ अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् ।

सरकारको ‘एक पालिका, एक आधारभूत अस्पताल’को नीतिअनुसार वडा नं ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ । दुई वर्ष अगाडिदेखि निर्माण सुरु भएको उक्त अस्पताल ठेकेदारको लापरवाहीका कारण अहिलेसम्म सम्पन्न हुनसकेको छैन ।

निर्माणाधीन अस्पताल अहिले अलपत्र बनेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि खुसी भएका स्थानीय लामो समयदेखि काम नहुँदा निराश बनेका छन् । अस्पताल निर्माणका लागि विसं २०७७ असार २० गते ज्ञान ज्योति÷कुँवर आयोजना जेभीले रू १३ करोड लागतमा निर्माणको जिम्मा पाएको थियो । हालसम्म १२ वटा पिलर ठड्याउनु बाहेक अरु काम हुन सकेको छैन । यतिबेलासम्म निर्माण सम्पन्न हुनुपर्नेमा करिब १० प्रतिशतमात्रै काम सकिएको स्थानीयको भनाइ छ ।

गाउँमा स्वास्थ्य संस्था भए पनि जटिल रोग लागे उपचारका लागि अन्य ठूला अस्पतालमा जानुपर्ने बाध्यता रहेको स्थानीय पूर्णबहादुर विकले बताउनुभयो । निर्माणाधीन अस्पताल सम्पन्न भइ सञ्चालनमा आएपछि सामान्य रोगको उपचार गराउन टाढा जानु नपर्ने उहाँको भनाइ छ । “गाउँमा स्वास्थ्यचौकी त छन् तर, यहाँ खासै उपचार हुँदैन, केही बिरामी परिहाले बुर्तिबाङ जानुपर्छ, यहाँ अस्पताल बन्न लागेको दुई वर्ष भयो, अहिलेसम्म थोरै मात्र काम भएको छ, यो बन्ला भन्ने आश नै मर्न लाग्यो”, विकले भन्नुभयो ।

निर्माण कम्पनीले विसं २०८० पुस २० सम्ममा निर्माण सम्पन्न गर्ने गरी पहिलोपटक म्याद थपेको छ । तमानखोला गाउँपालिका–५ का अध्यक्ष हीराबहादुर विकले निर्माण कम्पनीलाई पटक–पटक काम गर्न आग्रह गरे पनि विभिन्न बहाना बनाएर काम नगरेको बताउनुभयो ।

“निर्माण कम्पनीसँग बसेर छलफल गरियो, निर्धारित समयभित्र काम सक्छौँ भने पनि फिल्डमा काम गर्न आउँदैनन्”, अध्यक्ष विकले भन्नुभयो, “विद्युत्, खानेपानी र कामदारका लागि बस्ने व्यवस्थापनसमेत गरेका थियौँ, अस्पताल समयमै बनोस् भन्ने चाहेका छ ।”

अस्पताल सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट निर्माण हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठले थपेको म्यादसम्म काम नगरे ठेक्का रद्द गर्ने बताउनुभयो । लामो समयसम्म काम नगरेपछि जनप्रतिनिधि र ठेकेदारसँग बैठक बसी तत्काल काम सुरु गर्ने निर्णय भएको प्रमुख श्रेष्ठको भनाइ छ ।

Skip This