
काठमाडाैं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको काम, जिम्मेवारी र संख्यालाई लिएर अनर्गल प्रचार भइरहेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट नेपाली सेनाका विषयमा अनर्गल प्रचार भइरहेको आरोप लगाउनुभयो ।
नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेको जिम्मेवारीका बारेमा बेला मौकामा अनर्गल गाली र प्रचार गर्ने गरेको उहाँको आरोप छ । नेपाली सेनाका बारेमा केही जान्न इच्छा भएका आधिकारिक वेबसाइट र सम्बन्धित विभागमा गरेको परिपत्रबाट बुझ्न उहाँको आग्रह छ ।
आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने नेपाल सरकारले निर्धारण गर्ने विषय भएको उहाँको भनाइ थियो । नेपाली सेनाले देशको अर्थतन्त्रमा गरेको योगदान र कल्याणकारी कामबारे भने सुरक्षा विज्ञहरुले कतै उल्लेख नगरेको शर्माको भनाइ छ । नेपाली सेनासँग सम्बन्धित विभिन्न सूचनाहरुसँगै कल्याणकारी कार्य र कोषको समेत वेबसाइटमा प्रकाशित हुने गरेको उहाँले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, स्वरोजगार र केही मात्रामा भए पनि सहुलियतमा हिताधिकारीलाई सुविधा उपलब्ध गराउन कल्याणकारी कोष प्रयोग गरिएको शर्माको भनाइ थियो । अहिले ७३ अर्ब रुपैयाँ नेपाली सेनाको कल्याणकारी कोषमा रहेको र त्यसको १३ करोड ३७ लाख रुपैयाँ ब्याजबाट खर्च गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाली सेनाले शान्ति सेनामा गएर वर्षको २२ करोड अमेरिकी डलर ल्याउने गरेको भन्दै प्रधान सेनापति शर्माले सेनाले देशको अर्थतन्त्रलाई सहयोग गरेको दाबी गनुभयो । फूलबारी ब्यारेकमा भएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने ३ हजार ८९४ भूपू सैनिक सहभागी थिए । सेनाको नं ३ बाहिनी अड्डा खैरेनीटार तनहुँमा भोली गोरखा, लमजुङ र तनहुँमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिक सम्मेलन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्