
काठमाडाैं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च गर्ने क्षमता बढाउन र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनुभएको छ ।
नेपाल–इटली उद्योग वाणिज्य संघको कार्यक्रममा मन्त्री श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गर्नुभयो ।
उहाँले अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।
उहाँले नेपालको धेरै ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै व्यापार घाटा घटाउन उत्पादनको वृद्धि, आयात प्रतिस्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले नेपाल र इटलीबीचको कुटनीतिक सम्बन्धलाई नागरिकस्तरमा विकास गर्दै एक अर्काका उत्पादन आदानप्रदान गर्ने र नेपालमा इटालीका पर्यटक भित्र्याउने काम गर्नुपर्ने बताउनु भयो ।
उहाँले नेपालले इटलीमा वार्षिक १ अर्ब १४ करोडको सामान निर्यात गर्ने गरेको र इटलीसँग नेपालको व्यापार घाटा २ अर्ब ९६ करोड रुपैयाँ रहेको बताउनु भयो ।









प्रतिक्रिया दिनुहोस्