काठमाडौं, भदौ १६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घन्टा सन्चालनमा आएको छ ।
विमानस्थलको आन्तरिक टर्मिनल शनिबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घन्टा सन्चालनमा आएको हो ।
सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सन्चालनमा ल्याएको थियो ।
विमानस्थलको आन्तरिक टर्मिनल सन्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि सुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
यसअघि, बिहान ६ बजे खुलेर ६.४५ देखि ७ बजेपछिमात्र आन्तरिक उडान हुने गरेको थियो । अब भने बिहान ठीक ६ बजे विमान उडिसक्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
नजिकिएको चाडपर्व, पर्यटकीय मौसम तथा विमानस्थलको चापलाईसमेत मध्यनजर गरी विमानस्थलले विमान ५ बजे नै सेवा सुरु गरेको हो ।
सबैरै विमानस्थल खुलेपछि अन्तर्राष्ट्रिय उडान पनि केही समयअघि ल्याउने गरी विमानस्थले व्यवस्थापन गर्न लागेको महाप्रबन्धक क्षेत्रीले बताए ।
उनकाअनुसार अन्तर्राष्ट्रिय विमानमध्ये बिहान पहिलो अवतरण (६ः४५ बजे) गर्ने टर्किस एअरवेजको अवतरणको समय २० मिनेटअगावै हुने भएको छ ।
शनिबारदेखि विमानस्थलको टावर बिहान ५ः४० बजे नै खुल्नेछ । यसअघि, ६ बजे खुल्ने गरेको थियो ।
यसअघि, विमनस्थल जाडोयाममा बिहान ६ः३० र गर्मीयाममा बिहान ६ बजे खुल्ने गरेको थियो ।
विमानस्थलले थपेको समय राति १२ः३० देखि ३ बजेको समयमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले उडान भर्ने गरेका छन् । अन्य अन्तर्राष्ट्रिय एअरलाइन्ससँग पनि छलफल भइरहेको बताइएको छ ।
यसैबीच, कतार एअरले शनिबारदेखि एक उडान थपेको छ । दोहा–काठमाडौंमा दैनिक पाँचओटा उडान भर्दै आएको कम्पनीले आगामी २७ अक्टोबरसम्म बिहान १ बजे आउने र २ बजे फर्कने विमानस्थलले जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रियमा ३० ओटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस









प्रतिक्रिया दिनुहोस्