३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


‘विद्यालयहरुको पुनःनिर्माण गर्न २४ अर्ब अपुग’


0
Shares

काठमाडौं, असार ४ । भूकम्पबाट क्षतिग्रस्त बनेका विद्यालयहरुको पुनःनिर्माण गर्न २४ अर्ब रुपैयाँ रकम अपुग भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत्को केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

शिक्षा पत्रकार सञ्जालले सोमबार राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा विद्यालय पुनःनिर्माण गर्न दाताहरुको सहयोगबाट ७१ अर्ब रुपैयाँ रकम प्राप्त भएपनि २४ अर्ब अपुग रहेको जानकारी दिइयो ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव कृष्ण दवाडीले अपुग रकम दुई वर्षभित्र जुटाउनसकिने भन्दै दुई वर्षभित्र पुनःनिर्माण गर्न बाँकी विद्यालयको ‘मोडल’ तयार गर्ने बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले आगामी आर्थिक वर्षमा भूकम्पका कारण क्षति पुगेका ३२ जिल्लाबाहेक जिल्लाका विद्यालयका लागि ४ अर्ब रकम विनियोजन भएको जानकारी दिए ।

चीन सरकारले १० र ७० ओटा विद्यालय भारत सरकारले पुनःनिर्माण गर्ने भने पनि भारत सरकारले बनाउने भनेका विद्यालय पुनःनिर्माण हुन नसकेको प्रवक्ता अर्यालले बताए ।

कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का इमनारायण श्रेष्ठले पुनःनिर्माण गर्नुपर्ने ४५० विद्यालयको जग्गा नभएका कारण तत्काल पुनःर्निर्माण गर्न समस्या देखिएको बताए ।

क्षति पुगेका ७ हजार ५५३ विद्यालयमध्ये ६ हजार १८५ विद्यालयसम्म पुग्न सकेको र ३ हजार ७८५ विद्यालय पुनःनिर्माण भइसकेको श्रेष्ठले जानकारी दिए ।