
काठमाडौं । यू–१७ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
बंगलादेशको ढाकामा सोमबार भएको खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको हो ।
खेलमा भारतलाई विजयी गराउन शिल्जी शाजीले ह्याट्रिक गर्दा पूजाले एक गोल थपिन् । नेपालका लागि वर्षा ओलीले एक गोल गरिन् ।
खेलको १० औं मिनेटमा शिल्जीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिइन् । ४० औं मिनेटमा शिल्जीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई दोब्बर अग्रता दिलाईन । ४१ औं मिनेटमा पूजाले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाईन । ५४ औं मिनेटमा वर्षाले गोल गर्दै नेपाललाई ३–१ को स्थितिमा ल्याईन् । त्यसपछि ८० औं मिनेटमा शिल्जीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित दिलाईन् ।
जितसँगै भारतले पहिलो खेलबाट ३ अंक जोड्दा नेपालले भने खराब सुरुवात गरेको छ ।
प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ ।
राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।
प्रतिक्रिया दिनुहोस्