कन्चनपुर, भदौ १६ । खानेपानी मन्त्री बीना मगरले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारसँग शनिबार भेट गरेकी छन् ।
कन्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित घर पुगेर उनले पीडित परिवारसँग भेट गरेकी हुन् ।
उनले घटनाको अनुसन्धानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बचन पनि दिएकी छन् ।
कन्चनपुर पुगेर मन्त्री मगरले स्थानीय प्रशासनसँगसमेत १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्याको घटनाकाबारेमा भइरहेको अनुसन्धानलगायत विषयमा जानकारी लिएकी थिइन् ।
निर्मलाका आफन्तसँगको भेटमा मन्त्री मगरले सरकारले घटनाको छिट्टै अनुसन्धान गरी अपराधी कुनैपनि हालतमा उम्कन नदिने बताइन् ।
घटनाको एक महिनासम्म हत्यारा पत्ता नलाग्नुमा कुनै शक्तिको चलखेल भएको हुनेसक्ने निर्मलाका आफन्तले आशंका गर्दा मन्त्री मगरले अपराधी जतिसुकै शक्तिशाली भएपनि कानुनी दायरामा ल्याइने बताइन् ।
उनले शनिबारै निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउन गरिएको प्रदर्शनकाक्रममा मारिएका सन्नी खुनाका आफन्तसँग पनि भेट गरेकी छन् ।
मन्त्री मगरसँगै प्रतिनिधिसभाका सांसद डा. दीपकप्रकाश भट्ट, निरु पाल र प्रदेश सांसद प्रकाश रावल तथा मानबहादुर सुनार पनि त्यहाँ पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्