Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


कुराकानी रेकर्ड गर्न सक्ने कानून ल्याइँदै !


3.8k
Shares

काठमाडौं । सरकारले व्यक्तिगत कुराकानीलाई मोबाइलमा रेकर्ड गर्न सक्ने कानूनको मस्यौदा तयार गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयक मस्यौदाको दफा ७७ को उपदफा १ र २ मा सो व्यवस्था गरी मोबाइलमा सिधै पहुँच राखेर रेकर्ड गर्न सकिने व्यवस्था गरेको छ। केही दिनअघि मात्रै तयार गरिएको सो मस्यौदामा उल्लेख भए अनुुसार जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्ने लगायत पहिचान खुल्ने तथा सेवासम्बन्धी अन्य विवरण रेकर्ड गर्न सकिनेछ।

मस्यौदाको दफा ७७ को उपदफा २ अनुसार उपयुक्त प्रविधिको प्रयोग गरी सेवा प्रदायकहरूको प्रणालीमा सोझै पहुँच पाउने गरी संयन्त्र जडान गर्न र सूचनामा पहुँच पाउने व्यवस्था गरिएको छ। जसले गर्दा व्यक्तिको व्यक्तिगत हक हनन हुने गरी मस्यौदा तयार भएको छ। ‘जुनसुकै व्यक्तिको पनि कुराकानी रेकर्ड गर्ने लगायत पहिचान खुल्ने तथा सेवासम्बन्धी अन्य विवरणहरू अनुसन्धानका लागि सेवाप्रदायकबाट प्राप्त गर्न सक्ने,’ मस्यौदाको दफा ७७ को उपदफा १ मा उल्लेख छ।

नेपाल सरकारको अधिकार प्राप्त अनुसन्धान गर्ने निकायले नेपालको सार्वभौमसत्ता, अखण्डता एवं राष्ट्रिय हितविपरीत तथा राज्यद्रोह, अपराध वा संगठित अपराध वा फौजदारी अपराधलगायत क्रियाकलाप गरेको विषयमा त्यसरी कुराकानी रेकर्ड गर्न सक्ने भनिएको छ। यसका लागि अदालतको आदेशसमेत जरुरी नहुने गरी मस्यौदा तयार पारी संविधान प्रदत्त मौलिक हकको समेत उल्लंघन गरिएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Skip This