Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेकाे माग


91
Shares

काठमाडौं । नेकपा एमालेले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

आइतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको टिप्पणी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको हो ।

उहाँले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराउनु भयो । महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटीरहेका बेला नेपालमा किन वृद्धि गर्नु पर्‍याे भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयो । आफ्नो पार्टी नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसलाई गति दिन पनि सरकारसँग माग गर्नुभयो ।

महासचिव पोखरेलले नेपालमा वन क्षेत्र प्रशस्त भएकाले प्राङ्गारिक मलको उत्पादनका लागि किसानलाई प्रोत्साहन गर्न र त्यसका लागि आवश्यक बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कृषि क्षेत्रको विकासका लागि लागि पूँजी र प्रविधिको विकासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।