२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


नगर अस्पतालमा जीवनजल अभाव


377
Shares

बारा । झाडापाखालामा मृत्युबाट जोगाउने अचुक औषधिको रुपमा प्रयाेग हुने जीवनजल बाराको सिमरा स्थित नगर अस्पतालमा दुई दिनदेखि बीरामीले पाउन सकेका छैनन् ।

जितपुर सिमरा उपमहानगरद्वारा सञ्चचालित उक्त अस्पतालमा नि:शुल्क पाइने जीवनजल उपलब्ध नभए पछि बीरामीहरुका आफन्तले निजी फार्मेसीमा किन्दै ल्याएर उपचार गर्दै आएका छन् ।

स्वास्थ्यमा सबै नगरवासीको पहुँच भन्दै नगर प्रमुख राजन पौडेलले प्राथमिक स्वास्थ्य केन्द्रलाई जनशक्ति थप गरी केही महिना अघि अस्पताल सञ्चालनमा ल्याएको थियो । उपमहानगरको कर्मचारी, प्रशासनले चरम लापरवाही गर्दा दुई दिनसम्म नगर अस्पताल सिमरामा जीवनजल उपलब्ध हुन नसकेको हो ।

अस्पतालका फामेर्सी सहायक अशोक कुमार साहले जीवनजलको स्टक नगरपालिकामै सकिएकोले अस्पताललाई उपलब्ध भएपछि वितरण गरिने बताउनु भयाे।

तराईमा गर्मीयाम सुरु भएसँगै खाना र पानी दुवै दुषित हुने गरेको कारण झाडापखाला, टाइफाइड, छालारोग जस्ता बीरामीहरु नगर अस्पताल आउने क्रम बढदो रहेको अस्पतालले जनाएको छ ।

जीवन जल नहुँदा झाडा पखाला लागेर नगर अस्पताल आउने कतिपय कमजोर आर्थिक अवस्थाका विरामीहरु नजिकैकाे निजी अस्पतालमा महगों सेवा लिन बाध्य छन् ।

उपमहानगरमा औषधि उपलब्ध गराउने कम्पनी र कर्मचारीकै मिलोमतोमा जीवन जल बाहेक नि:शुल्क रुपमा दिनुपर्ने कतिपय औषधि अस्पतालले उपलब्ध गराउन नसकेको प्रति नगरबासीले सेटिङ्ग भएको आरोप लगाउँदै आएका छन् ।

राज्यबाट ७० प्रकारको औषधि नि:शुल्क रुपमा उपलब्ध गराउन भनिए पनि अस्पतालले करिब १९ प्रकारका मात्रै औषधि उपलब्ध गराउँदै आएकाे छ ।
दैनिक सयभन्दा बढी नगरका विरामीहरुले सेवा लिने उक्त अस्पतालमा २४ घण्टा एर्मेजेन्सीसहित तीन मेडिकल अफिसर र २५ जना तल्लाे तहका कर्मचारी कार्यरत छन् ।