Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


‘बिम्स्टेक ग्रीड इन्टरकनेक्सनले देश विकासको सम्भावनाको बाटो खुल्यो’


0
Shares

काठमाडौं, भदौ १५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुबीच विद्युत् प्रसारणमार्ग सञ्जाल निर्माणसम्बन्धी समझदारी भएको छ ।

बिम्स्टेकको शुक्रबार राजधानीमा सम्पन्न चौथो शिखर सम्मेलनमा यससम्बन्धी समझदारी भएको हो ।

यो समझदारीसँगै बिम्स्टेक राष्ट्रहरुबीच बिजुली आदान–प्रदानका लागि अन्तरदेशीय बिजुली प्रसारणमार्ग निर्माणको बाटो खुल्नेछ । यसबाट क्षेत्रीयस्तरमा विद्युत् किनबेचका लागि पनि बाटो खुल्नेछ ।

समझदारी कार्यान्वयनसँगै नेपालले म्यानमार हुँदै थाइल्यान्डसम्म पनि विद्युत् बेच्न पाउनेछ । यसले नेपालजस्ता जलविद्युत्को सम्भावना बढी रहेका मुलुकले लाभ लिनसक्ने भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं ऊर्जाउद्यमी ज्ञानेन्द्रलाल प्रधान यो समझदारीसँगै नेपालमा विकासका लागि सम्भावित बाटोहरु खुलेको र लगानीको क्षेत्रहरु बढेको बताउँछन् ।

खाडीको मुख्य एजेन्डा नै ऊर्जाको विकास गर्नु रहेकाले यस किसिमको सम्झौताले नेपालको ऊर्जा क्षेत्रको विकासलाई सहजीकरण गर्दै लैजाने प्रधानको भनाइ छ ।

नेपालले नीतिगत परिवर्तन गर्दै लगानीका क्षेत्रहरु तय गर्नसकेमा आर्थिक विकासको गतितिर जानसक्ने प्रधानले उल्लेख गरे ।

सम्झौता कार्यान्वयन चरणतिर लैजान सरकारले नीतिगत सहजता ल्याउन सक्नुपर्ने धारणा उनले व्यक्त गरे ।