काठमाडाैं । नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ ।
बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकमा बैंकहरुले ५ प्रतिशत भन्दा बढी प्रिमियम नलिने घोषणा गरेका हुन् । हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका थिए । अब भने ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स संघले जनाएकाे छ ।
अहिले धेरै बैंकहरुको आधार दर १० प्रतिशतको हाराहारीमा रहेकाे छ । यस अनुसार बैंकहरुको ब्याजदर अधिकतम १५ प्रतिशतसम्म हुने भएको छ । आगामी वैशाखदेखि आधार दर अझै घट्ने हुँदा कर्जाको ब्याजदर अझै घट्ने सम्भावना रहेकाे छ ।
त्यस्तै, संघले बचत खाताको ब्याजदर पनि केहि घटाउने निर्णय गरेको छ । बचतको ब्याजदर ०.४२ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो । अब बचतको ब्याजदर ६ देखि ८ प्रतिशतसम्म हुने भएकाे छ । त्यस्तै, कल निक्षेपको ब्याजदर भने घटाएर ३ प्रतिशतमा झारिएको छ ।
संघको बैठकले मुद्दती निक्षेपको ब्याजदर भने तत्काल नघटाउने निर्णय गरेको छ । बिहीबार संघको पूर्ण बैठकमा मुद्दती निक्षेपमा निक्षेपको अवधि अनुसार ब्याजदर फरक गर्ने विषयमा पनि छलफल भएपनि कुनै निर्णय भने हुन नसकेको जनाइएकाे छ ।
मुद्दती निक्षेपकै ब्याजदर थोरै भएपनि घटाउनुपर्ने प्रस्ताव केही बैंकरले गरे पनि अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढ्दो ट्रेन्डमा नै रहेकोले अहिले हतारमा ब्याजदर घटाउन नहुने भन्दै यथावत राख्ने निर्णय भएको बैंकरहरुले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्