काठमाडौं, भदौ १५ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य राष्ट्रहरुबीच विद्युत् प्रसारणमार्ग सञ्जाल निर्माणसम्बन्धी समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ ।
शुक्रबार काठमाडौंमा भएको पराराष्ट्रमन्त्रीस्तरीय बैठकले समझदारीपत्र अनुमोदन गरेपछि बिम्स्टेक शिखर सम्मेलनमा पेस गरिएको थियो ।
यो समझदारीसँगै बिम्स्टेक राष्ट्रहरुबीच बिजुली आदान–प्रदानका लागि अन्तरदेशीय बिजुली प्रसारणमार्ग सञ्जाल निर्माणको बाटो खुल्नेछ ।
‘ग्रीड कनेक्टिभिटी’बारे समझदारीपत्रमा बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्रीहरुले हस्ताक्षर गरेका हुन् ।
समझदारी कार्यान्यवनमा आएमा एक देशबाट अर्को देशमा ग्रीड लाइन जोडिनेछ । यसबाट क्षेत्रीयस्तरमा विद्युत् किनबेचका लागि बाटो खुल्नेछ । यसअघि, सार्क राष्ट्रहरुबीच पनि यस्तो समझदारी भएको थियो ।
समझदारी कार्यान्वयन भएमा नेपालले म्यानमार हुँदै थाइल्यान्डसम्म पनि विद्युत बेच्न पाउनेछ ।
हालसम्म नेपालले विद्युत् आदान–प्रदानका लागि भारत र बंगलादेशसँगमात्रै समझदारी गरेको छ ।
यो समझदारी कार्यान्वयन हुँदा नेपाल, भुटानजस्ता जलविद्युत्को सम्भावना रहेका मुलुकले ऊर्जा उत्पादन गरेर बिक्री गर्न पाउँछन् भने ऊर्जासंकटमा परेका अरु देशले लाभ उठाउन सक्नेछन् ।









प्रतिक्रिया दिनुहोस्