काठमाडौं, भदौ १५ । नेपाल र भारतबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि सम्झौता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार काठमाडौंमा भएको दुईपक्षीय वार्तापछि रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौता भएको हो ।
दुवै प्रधानमन्त्रीको उपस्थितिमा नेपालको तर्फबाट भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसूदन अधिकारी र भारतको तर्फबाट भारतीय राजदूत मञ्जिभसिंह पुरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार भारतले रक्सौलदेखि काठमाडौंसम्मको ब्रोडगेज विद्युतीय रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्नेछ ।
समझदारीअनुसार भारत सरकारको लगानी रहेको कोंकन रेल्वे कर्पोरेसन लिमिटेडले रेल्वे अध्ययन गर्नेछ ।
यसबारे नेपालको भौतिक मन्त्रालय, रेल विभागसहितका अधिकारीसँग कम्पनीका उच्च अधिकारीले भेटवार्ता पनि गरिसकेका छन् ।
उक्त कम्पनीले अध्ययनकार्य पूरा गरिसकेपछि अरु अध्ययन, विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयारी र निर्माण प्रक्रियाका लागि बाटो खुला हुनेछ ।
प्रारम्भिक तयारीअनुसार रक्सौलबाट निजगढ हुँदै काठमाडौंको चोभारमा रेलमार्ग बनाउन खोजिएको र रेलमार्ग करिब १२० किलोमिटर दूरीको हुने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्