१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


स्वास्थ्य, शिक्षा क्षेत्रलाई राजनीतिक भर्तीकेन्द्र बनाउन हुँदैन : मन्त्री यादव


0
Shares

चितवन, भदौ १५ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिको फोहोरी खेल र भ्रष्टाचार अन्त्य भए देशको मुहार आफैं फेरिने बताएका छन् ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको नवनिर्मित अन्तरंग भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री यादवले स्वास्थ्य, शिक्षाजस्ता संवेदनशील क्षेत्रलाई राजनीतिक भर्तीकेन्द्र बनाएर देशलाई बर्बाद पार्न नहुने बताए ।

विदेशीले निर्माण गरिदिएका संस्थाहरुलाई देखाएर आफ्नो तारिफ र बहादुरी देखाउने परिपाटी अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

‘हामीले गरेको प्रगति भनेकै दैनिक ५/७ हजार देशका जनशक्ति बाहिर निर्यात गर्ने र ५/७ ओटा लाश नेपाल ल्याउने हो’–उनले भने–‘यसमा हामीले के गर्व गर्ने ?’

देशमा आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने भन्दै मन्त्री यादवले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताए ।

उनले स्वास्थ्य क्षेत्रमा भएको ४ प्रतिशत लगानीले जनतालाई सर्वसुलभ र सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने प्रस्ट पारे ।

देशका नागरिक स्वस्थ र शिक्षित भए देश आफैं बन्ने धारणा उनले व्यक्त गरे ।

क्यान्सरका बिरामी उपचार गर्ने चिकित्सक र प्राविधिक स्वदेशमै उत्पादन गर्ने र उनीहरुको क्षमता नेपालमै प्रयोग गर्नसकिने मन्त्री यादवको भनाइ छ ।

अरु देशका नागरिक पनि नेपालमा उपचार गराउन आउने अस्पतालकारुपमा क्यान्सर अस्पताललाई विकसित गर्नुपर्ने उनले बताए ।