१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


क्यान्सर अस्पतालको नवनिर्मित भवन उद्घाटन, २५० शय्या थप


0
Shares

चितवन, भदौ १५ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको नवनिर्मित अन्तरंग भवनको उद्घाटन गरिएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शुक्रबार एक कार्यक्रमकाबीच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवनसँगै रेडिएसन विभागमा नयाँ जडान भएको अत्याधुनिक लिन्याक मेसिन, सिटी सिमुलेटर र ब्राकिथेरापी मेसिनको सेवासमेत प्रारम्भ गरिएको छ ।

हाल २०० शय्या सन्चालन भइरहेको अस्पतालमा नयाँ भवन निर्माणसँगै ४५० बढी शय्या हुने भएको छ ।

नयाँ भवनमा २५० शय्या थपिने भएकाले उपचारका लागि आएका बिरामी फर्कनुपर्ने अवस्था नहुने अस्पतालले जनाएको छ ।

वि.सं. २०५७ मा १०० शय्याबाट भरतपुरमा सुरु भएको बीपी कोइराला क्यान्सर अस्पताल तत्कालीन समयमा चीन सरकारको सहयोगमा एसियाकै नमुना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको थियो ।

नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचारकक्ष, उच्चस्तरका क्याबिन, आकस्मिक कक्ष, शल्यक्रिया गर्नुपूर्व र पछि बिरामी राख्ने कक्ष, चिकित्सक छलफल गर्ने बैठककक्ष, बिरामीका रेकर्ड राख्नेलगायत कक्ष छन् ।

हाल २० मेडिकल अफिसरसहित १०० विज्ञ चिकित्सक अस्पतालमा कार्यरत् छन् भने चिनियाँ स्वयंसेवककारूपमा १५ चिकित्सक कार्यरत् रहेका जनाइएको छ ।

अस्पतालमा नेपालका प्रायः सबै जिल्ला र भारतबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन् ।

गत वर्ष अस्पतालबाट एक लाख ३१ हजारले सेवा लिएका थिए । चालू आवमा दुई लाखभन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ ।

अस्पतालमा आउने बिरामीमध्ये ८ देखि १० हजार नयाँ क्यान्सरका हुने गरेका अस्पतालले जनाएको छ ।