२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


नवलपुरको मध्यविन्दु अस्पतालमा दक्ष जनशक्तिको अभाव

बिरामीको उपचारमा समस्या

104
Shares

नवलपुर । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा भवनका साथै आवश्यक स्वास्थ्यकर्मीको अभाव भएकाे छ ।

जसका कारण बिरामीको उपचारमा समस्या भएको हाे । अस्पतालमा भवनको अभावका कारण राम्रो सेवा नपाएको बिरामीले गुनासो गरेका हुन् ।

सरकारले नवलपुरको कावासोती नगरपालिका–१६ डण्डास्थित मध्यविन्दु सामुदायिक अस्पताललाई आज भन्दा दुई वर्ष अगाडि जिल्ला अस्पतालमा रुपान्तरण गरेको थियो । तर अस्पतालमा दक्ष जनशक्तिको अभाव हुँदा प्रभावकारी सेवा दिन सकेको छैन ।

मध्यविन्दु जिल्ला अस्पतालमा भवनका साथै आवश्यक स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ । कोरोना महामारीकाबीच सिमित स्रोत साधनको भरमा रहेको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ ।

कोरोना महामारीकै अवधिमा थुप्रै उपकरण र स्वास्थ्य सामाग्री जुटाएको अस्पतालमा भवन र दरबन्दी अनुसारका मेडिकल अधिकृत, बाल रोग तथा स्त्री रोगका चिकित्सक, प्रशासनिक कर्मचारी, विशेषज्ञ तथा स्वास्थ्यकर्मी नभएकाे मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताउनुभयाे ।

मध्यविन्दु जिल्ला अस्पतालमा १ सय ५० जना स्वास्थ्यकर्मीको दरबन्दी भएपनि हाल ६८ जना स्वास्थ्यकर्मीले मात्रै सेवा दिइरहेका छन् । अस्पतालमा उपकरण थपिंदै गएपनि ति उपकरण सञ्चालन गर्नका लागि दक्ष जनशक्तिको अभाव रहेकाे छ ।

उचित प्रविधि र दक्ष जनशक्ति नहुँदा अस्पतालले प्रदान गर्ने डायलाइसिस सेवामा समेत समस्या भएको अस्पतालका मे.सु जितेन्द्र कँडेलले बताउनुभयो । पहिलो शत्रको रुपमा अहिले ९ जना मृर्गौलाका बिरामीलाई मात्र सेवा दिइएको कँडेलले बताउनुभयो ।

नवलपुरमा कम्तिमा ८० जना मृर्गौला रोगीले डायलाइसिस गरेको मध्यविन्दु जिल्ला अस्पतालले तथ्यांक संकलन गरेको छ । जसका लागि अस्पतालमा रहेका ४ वटा मेसिन पूर्ण रुपमा सञ्चालनमा ल्याउनु पर्नेछ भने अस्पतालमा डायलाइसिस सेवाका लागि मात्रै १० वटा बेड सञ्चालनमा ल्याउनु पर्ने अस्पतालका मे.सु कँडेल बताउनुहुन्छ ।

सरकारले १५ शैयाको अस्पताललाई २०७५ साल फाल्गुन २८ गते ५० शैयामा रुपान्तरण गरेको थियो । दैनिक दुई सयभन्दा धेरै बिरामी आउने गरेको अस्पतालमा भवनको अभावका कारण बिरामीले राम्रो सेवा नपाएको गुनासो गरेका छन् ।