Logo २ कार्तिक २०८२, आइतबार | Mon Oct 20 2025


डडेल्धुरामा बाघको हड्डीसहित दुई जना पक्राउ


221
Shares

डडेल्धुरा । डडेल्धुरामा बाघको हड्डीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका सञ्चालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तड छेडेदह गाउँपालिका–७ घर भई मार्तडीकै सितल मदिरा स्टोरका सञ्चालक २७ वर्षीय वीरबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार दुवै जनालाई शनिबार राति साढे १२ बजे जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो (आरआईटी)को संयुक्त टोलीले अमरगढी नगरपालिका–५ बागबजारमा पक्राउ गरि आइतबार दुवै जनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

झोलाबाट टाउको जस्तो देखिने अस्थिपञ्जर, हड्डीमाथि तर्कको चार वटा दाँतहरू देखिएको हड्डी एक थान, तल्लो बाङग्राको जस्तो देखिने हड्डी दुई थान, मेरुदण्डको जस्तो देखिने हड्डी २९ थान, करङको जस्तो हड्डी २२ थान, फीलपातको जस्तो देखिने हड्डी ५ थान, नलि हड्डी जस्तो देखिने हड्डी १० थान, विभिन्न प्रकारका स–साना हड्डी २७ गरी जम्मा ९६ थान तथा ४.०५ किलो हड्डी बरामद गरिएको डीएसपी भट्टले बताउनुभयो ।

बरामद गरिएको बाघको हड्डी अनुसन्धानका लागि डिभिजन वन कार्यालय डडेल्धुरालाई जिम्मा लगाइएको भट्टले जानकारी दिनुभयो ।