Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


कपिलवस्तुमा गिद्धको संरक्षण गर्न समुदायलाई प्रशिक्षण


702
Shares

कपिलवस्तु । कपिलवस्तुमा गिद्धको संरक्षणका लागि समुदायलाई प्रशिक्षण गरिएको छ ।

मानवीय त्रुटिको कारणले हुने गिद्धको मृत्युबाट जोगाउन बाणगंगाको राजापानी सामुदायिक वन क्षेत्र आसपासका स्थानीय अगुवा, कृषक, युवा क्लब, पशु चिकित्सक तथा प्राविधिक, सामुदायिक वनका प्रतिनिधि र जनप्रतिनिधिसहितलाई प्रशिक्षण गरिएको हाे ।

जनावरहरु बिरामी भएको अवस्थामा पशु चिकित्सक वा प्राविधिकहरुले बिरामी जनावरहरुलाई उपचार गर्ने क्रममा दुखाई कम गर्ने डाईक्लोफेनेक नामक औषधिको प्रयोग नै गिद्ध विनाशको प्रमुख कारक तत्व रहेको डा. सन्दीप पौडेलले बताउनुभयो । वन्यजन्तुहरुबाट किसानले बालीनाली र घरपालुवा जनावर जोगाउन सिनोमा विषादीको गैरकानूनी प्रयोग गरेकाे उहाँकाे भनाइ छ ।

जसका कारणले पछिल्लो समयमा गिद्धहरुको मृत्यु हुने गरेकाले पनि गिद्धहरुको संख्या दैनिक रूपमा घट्दै गइरहेको उहाँले बताउनुभयो । कपिलवस्तुमा विषयुक्त सिनोका कारण गिद्ध मरेको घटना नभए पनि सम्भावित जोखिमको कारणले समुदायलाई सचेत गराइएको नेपाल पंक्षी संरक्षणका अधिकृत भूपाल नेपालीले बताउनुभयो ।