
काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकपको एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
शनिबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई २ सय ३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३ सय ४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १ सय रन मात्र बनाउन सकेकाे हाे । कुवेतका लागि क्रिस्टोफर सालधानाले २६ रन बनाउँदा रसिन मोहमदले १९ रन बनाएका हुन् ।
नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २-२ विकेट लिएका हुन् । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन बनाएको थियो । नेपालका लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक प्रहार गरेका हुन् ।
कप्तान खनालले १ सय २५ रन बनाउँदा ओपनर कुमालले १ सय ८ रन बनाउदै आउट भएका थिए । कुवेतका हेनरी थोमसले र सहिल काज्मीले समान २-२ तथा जय महेशकुमार मेहता १ विकेट लिएका हुन् । पहिलो खेलमा नेपालले शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो ।
नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्ने भएकाे छ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।
राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्