
भीमदत्तनगर, भदौ १४ । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका रोशनी बम र बबिता बमलाई बिहीबार एक साताको म्याद थप गरिएको छ ।
जिल्ला अदालत कन्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।
कन्चनपुर भीमदत्त नगरपालिका–२, खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो ।
घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या निर्मलाकी स्कुले साथी हुन् । उनकै घरबाट फर्कनेक्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो ।
यसअघि, सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कन्चनपुरबाट म्याद थप गरिएको थियो ।
म्याद थप गरिएसँगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको कामका लागि थप समय मिलेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
घटनामा यसअघि संलग्न भनिएका भीमदत्त नगरपालिका–१९, बागफाटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौ पठाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्