काठमाडौं । सातदोबाटो युथ क्लबले केपी ओली कप फुटबलमा विजयी सुरुवात गरेको छ ।
बिहीबार भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाले विजयी सुरुवात गरेको हो । पुलिसमाथि जित निकालेको सातदोबाटो सेमिफाइनलमा पुगेको छ । सातदोबाटोका दिपकराज सिंह ठकुरीले २ गोल गरेका थिए ।
उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पुलिसका प्रविण थापाले ४९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तर खेलको ७१ औं मिनेटमा दिपकराज सिंह ठकुरीले दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाएका हुन् ।
सातदोबाटोले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीचको विजेतासँग खेल्नेछ । आर्मी र एनआरटीबीचको खेल शुक्रबार बिहान ११ बजे सुरु हुने भएकाे छ । शुक्रबार नै दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।






प्रतिक्रिया दिनुहोस्