काठमाडौं, भदौ १४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्र साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको बताएका छन् ।
काठमाडौंमा सुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन समारोहमा मन्तव्य दिँदै उनले ‘हिमालय पर्वत शृंखला र हिन्द महासागरबीचको बंगालको खाडी क्षेत्र सबै सदस्य राष्ट्रको विकास, प्रगति र सुरक्षाका लागि विशेष महत्व राख्छ’–भने ।
बिम्स्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।
प्रधानमन्त्री मोदीको यो चौथो नेपाल भ्रमण हो ।
‘भारतको ‘छिमेकी पहिलो’ प्राथमिकताको नीति यसै क्षेत्रका लागि हो’–उनले भने–‘हामी सबै विकासशील देश हौं । शान्ति र समृद्धि सबैको प्राथमिकता हो । तर, आजको अन्तरसम्बन्धित विश्वमा यो काम एक्लैले गर्न सकिँदैन । सबैको साथ र सहयोग आवश्यक छ ।’
व्यापार, अर्थतन्त्र, यातायात, डिजिटल र जनस्तरको सम्बन्धको सम्पर्क सञ्जालमा काम गर्नुपर्ने भारतीय प्रधानमन्त्री मोदीको भनाइ थियो ।
भारतीय प्रधानमन्त्री मोदीले बिम्स्टेक सदस्य मुलुकका महिला सांसदबीच सम्पर्क सञ्जाल बनाउन आवश्यक रहेकामा पनि जोड दिए ।
उनले बिम्स्टेक सदस्य राष्ट्रका उद्यमीबीच सम्पर्क र सञ्जाल बढाउन भारत बिम्स्टेकस्तरको सम्मेलन आयोजना गर्न तयार रहेको जानकारी दिए ।
भारतीय प्रधानमन्त्री मोदीले सदस्य मुलुकमध्ये अधिकांश कृषिप्रधान देश भएको र जलवायु परिवर्तनका असरसँग जुधिरहेका सन्दर्भमा कृषि अनुसन्धान र शिक्षा विकासमा सहयोगका लागि भारतले यससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने अवगत गराए ।
उनले डिजिटल सम्पर्क सञ्जालको क्षेत्रमा भारत आफ्नो राष्ट्रिय ज्ञान सञ्जाल श्रीलंका, बंगलादेश, भुटान र नेपालमा बढाउन प्रतिबद्ध रहेको बताउँदै यसलाई म्यानमार र थाइल्यान्डसम्म बढाउने इच्छा व्यक्त गरे ।
‘म आशा गर्छु, यस वर्ष अक्टोबरमा नयाँदिल्लीमा हुने ‘इन्डिया मोबाइल कांग्रेस’मा तपाइँहरु सहभागी हुनुहुनेछ’–उनले भने ।
भारतीय प्रधानमन्त्री मोदीले सन् २०२० अगस्टमा भारतले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने बताउँदै सबै बिम्स्टेक सदस्य मुलुकलाई अतिथिकारुपमा सहभागी हुन निमन्त्रणासमेत गरे ।
उनले बंगालको खाडी क्षेत्रका कला–संस्कृति, सामुद्रिक कानुन र अन्य विषयमा शोध गर्नका लागि नालन्दा विश्वविद्यालयमा ‘बंगालको खाडी अध्ययन केन्द्र’ स्थापना गरिने अवगत गराए ।
यस क्षेत्रका सबै मुलुकको लामो इतिहास रहेको र इतिहाससँग जोडिएका पर्यटनका सम्भावनाको पूरै लाभ उठाउन पुरातात्विक सम्पदाको पुनरुत्थानमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
हिमालय र बंगालको खाडीसँग जोडिएको यस क्षेत्रका देशले पटक–पटक प्राकृतिक विपद्को सामना गर्नुपरेको बताउँदै उनले यसमा एकार्काको साथ र सहयोगमा मानवीय सहायता तथा विपद् पुनःस्थापनाको प्रयास आवश्यक रहेकामा जोड दिए ।
प्रधानमन्त्री मोदीले भने–‘यहाँ कुनै पनि देश यस्तो छैन, जसले आतंकवाद र आतंकवादको सञ्जालसँग जोडिएका आपराधिक र लागुऔषध बेचबिखनजस्ता समस्याको सामना नगरेको होस् ।’
उनले यससँग सम्बन्धित विषयमा बिम्स्टेक ढाँचामा एक सम्मेलनको आयोजना गर्न आफू तयार रहेको जानकारी दिए । रासस









प्रतिक्रिया दिनुहोस्