काठमाडौं, भदौ १४ । भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुकले जलवायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास जरुरी रहेको बताएका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन यस क्षेत्रको साझा समस्या भएकाले यसको समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।
उनले प्राकृतिक विपद्जस्ता समस्याबाट यस क्षेत्रका नागरिकलाई जोगाउनका लागि पनि समान लक्ष्यका साथ प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
वातावरण संरक्षणमा आफ्नो देशले प्रमुख ध्यान दिएको र ५१ प्रतिशतभन्दा बढी क्षेत्रमा वन क्षेत्र कायम गरेको जानकारी दिँदै वाङचुकले विपद्बाट जोगिन पनि सार्थक प्रयास गरेको स्पस्ट पारे ।
क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि साझा प्रयत्न जरुरी रहेको उल्लेख गर्दै वाङचुकले भने–‘एकल प्रयासबाटमात्रै साझा लक्ष्य हासिल गर्न मुस्किल छ । बिम्स्टेक सदस्य राष्ट्रको सामूहिक प्रयासबाटमात्रै सबै समस्याको समाधान हुनसक्छ ।’
उनले सम्पर्क सञ्जालको विस्तार गरेर जनस्तरको सम्बन्धलाई थप उचाइमा उठाउनुपर्नेमा जोड दिए ।
सूचना–प्रविधि, यातायात सञ्जाललगायतको विकास र विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले सरकार–सरकारकाबीचमामात्रै नभइ जनस्तरमासमेत सम्बन्ध विस्तार गर्न आवश्यक पहलकदमी जरुरी रहेको उल्लेख गरे ।
शान्ति र स्थायित्वका लागि आतंकवादको नियन्त्रण जरुरी छ भन्दै वाङचुकले त्यसका लागि पनि सामूहिक प्रयासको आवश्यकता औंल्याए ।
बिम्स्टेक क्षेत्रको व्यापार प्रवद्र्धनका लागि लागि स्वतन्त्र व्यापार क्षेत्र बनाउनु आवश्यक छ भन्दै उनले गरिबीविरुद्ध लड्ने साझा संकल्पसमेत जरुरी रहेको बताए ।
साझा चासो र समान हितका लागि बिम्स्टेक एउटा विशिष्ट मञ्च रहेको उल्लेख गर्दै वाङचुकले ‘आर्थिक, सामाजिक विकासका लागिसमेत सहकार्य जरुरी छ’ भने ।
विकासको साझा संकल्प लिएर अगाडि बढेको बिम्स्टेकलाई यस क्षेत्रको शान्ति र स्थायित्वको महत्वपूर्ण थलोकारुपमा विकास गर्नुपर्ने स्पस्ट पारे ।
डेढ अर्ब जनसंख्या अर्थात् विश्व जनसंख्याको २२ प्रतिशत जनता बसोबास गर्ने यस क्षेत्रलाई विकास र समृद्धिको केन्द्रकारुपमा अगाडि बढाउन वाङचुकले जोड दिए ।
आगामी अक्टोबरमा भुटानमा तेस्रो संसदीय निर्वाचन हुन लागेको जानकारी दिँदै आफ्नो १३ मिनेटको मन्तव्यमा उनले निर्वाचनपछि गठन हुने सरकारले थप प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । रासस









प्रतिक्रिया दिनुहोस्