Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


राजनीतिक र आर्थिक अवस्थामा सुधारमार्फत् समृद्धि : बंगलादेशी प्रधानमन्त्री


0
Shares

काठमाडौं, भदौ १४ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा बिम्स्टेकका सदस्य राष्ट्रको समृद्धि हुने बताएकी छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सम्बोधन गर्दै बंगलादेशी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी र भोकमरीको अन्त्य तथा सुरक्षा, पर्यटन, ऊर्जा र सम्पर्क सञ्जालको विकास र विस्तारमा जोड दिँदै दीगो विकासका लक्ष्यप्राप्तिका लागि साझा प्रयासमा जोड दिइन् ।

उनले संस्कृति र सार्वजनिक स्वास्थ्यका लागि बिम्स्टेकका सदस्य मुलुकले विशेष प्राथमिकता दिँदै जनतादेखि जनतासम्मको सम्पर्क विस्तार गर्नुपर्ने बताइन् ।

प्रधानमन्त्री हसिनाले आफ्नो मुलुकले कुल गार्हस्थ उत्पादनमा वृद्धि, सबैका लागि शिक्षाका लागि विशेष प्रबन्ध र सामाजिक एवं आर्थिक सुधारका लागि कदम चालेको अवगत गराइन् ।

सम्मेलनको आयोजनाका लागि नेपाललाई आभार व्यक्त गर्दै १६ मिनेट मन्तव्य दिएकी उनले प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य प्रेरणास्पद भएको बताइन् । रासस