काठमाडौं । जिल्ला वकिल कार्यालय काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहमद आदिल आलम, पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानको आधारमा जिल्ला वकिल कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिनुभयो ।
नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको आशंका सार्वजनिक भएपछि ब्यूरोका डीएसपी सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले गरेको अनुसन्धान क्रममा १२ जनाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको थियो ।
तीमध्ये आलमद्वयसहित वीरगञ्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता पक्राउ परेका थिए । सरकारी वकिल कार्यालयका अनुसार काठमाडौं नाइट्स टिमका को–वोनर नविन कँडेल र सप्तरीका रवि माझीलाई पनि फरार प्रतिवादीका रुपमा मुद्दा दर्ता गरिएको छ । बाँकी ७ जनाको नाम, थर र वतन खुलेपछि मुद्दा दायर गरिने जिल्ला न्यायाधिश नेउपानले बताउनुभयो ।
उनीहरुविरुद्ध राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१, ३२ र ३३ अनुसार कारबाही गर्न माग दाबी गरिएको छ । यसअनुसार यस्ता गतिविधिमा संलग्नलाई तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । लेनदेनको रकम खुले त्योसमेत जफत हुने व्यवस्था छ ।






प्रतिक्रिया दिनुहोस्