Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


बिम्स्टेककाबारे तपाइँलाई यी कुरा थाहा छ ?


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, भदौ १४ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा जारी छ ।

बिम्स्टेकको अध्यक्ष राष्ट्रको हैसियतले चौथो शिखर सम्मलेनको आयोजना नेपालले गरेको हो ।

दुई/दुई वर्षमा हुनुपर्ने शिखर सम्मेलन स्थापनाको २० वर्षको अवधिसम्म आइपुग्दा जम्मा चारपटकमात्र भएको छ ।

भारत, बंगलादेश, थाइल्यान्ड र श्रीलंका मिलेर सन् १९९७ मा स्थापना गरिएको बिम्स्टेकमा म्यानमार, नेपाल र भुटान थपिएर हाल ७ ओटा सदस्य राष्ट्र रहेका छन् ।

नेपाल भुटानसँगै सन् २००४ मा बिम्स्टेकमा प्रवेश गरेको थियो ।

बंगालको खाडी क्षेत्रमा रहेका मुलुकहरुको आर्थिक र सामाजिक विकासका लागि स्थापना भएपनि सोचेअनुरुपको विकास गर्न नसकेको भन्दै आलोचना पनि हुने गरेको छ ।

तर, अध्यक्ष राष्ट्रको हैसियतले चौथो शिखर सम्मेलन आयोजना गरेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भने यसपटकको शिखर सम्मेलन सफल हुने दाबी गरेका छन् ।

सदस्य राष्ट्रबीचको असमझदारी र आन्तरिक विवादका कारण बिम्स्टेकको शिखर सम्मेलन समयमै हुन नसेकोमात्र होइन, स्थापनाको दुई दशक पुगिसक्दा पनि बडापत्र र कानुनी दस्तावेजबिनै चल्दै आएको छ ।

बिम्स्टेकको पहिलो सम्मेलन स्थापना भएको झन्डै ७ वर्षपछि सन् २००४ मा थाइल्यान्डमा भएको थियो ।

यस्तै, दोस्रो सम्मेलन पहिलो सम्मेलन भएको ४ वर्षपछि सन् २००८ मा भारतमा भएको थियो ।

दोस्रो सम्मेलन भएको भन्डै ६ वर्षपछि सन् २०१४ मा तेस्रो सम्मेलन म्यानमारमा भएको थियो ।

तेस्रो सम्मेलनपछि बिम्स्टेकको अध्यक्षता नेपालले गरेको थियो । अध्यक्ष राष्ट्रको हैसियतले नेपालले चौथो शिखर सम्मेलनको आयोजना गरिरहेको छ ।

यसअघि, शिखर सम्मेलनमा भएका सम्झौताहरु भने केवल कागजमामात्रै सीमित भएका छन् ।

सदस्य राष्ट्रहरुबीच आर्थिक विकासलाई मूल मुद्दा बनाइएपनि कार्यान्वयनमा भने प्रगति हुन सकेको छैन ।

सदस्य राष्ट्रहरूमा विदेशी लगानी भित्र्याउने, व्यापार विस्तार गर्न र ऊर्जा निर्यातमा कनेक्टिभिटी स्थापना गर्ने सहमति यसअघिका सम्मेलनमा पनि भएका थिए । यसपटकको सम्मेलनमा पनि तिनै मुद्दाले स्थान पाएका छन् ।

चौथो शिखर सम्मेलनपछि नेपालले श्रीलंकालाई बिम्स्टेकको अध्यक्षता हस्तान्तरण गर्नेछ ।

अब अर्को सम्मेलन नभएसम्म बिम्स्टेकको अध्यक्ष राष्ट्र श्रीलंका हुनेछ ।

भिडियो हेर्नुहोस्