१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


दाङमा ट्रेड टावर निर्माणप्रति स्थानीयको असन्तुष्टि


208
Shares

दाङ । दाङको तुलसीपुरमा साढे १४ करोड लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावरको निर्माण कार्य सुरु भएको छ ।

लिफ्टसहित ७ तलाको टावर व्यापारिक प्रयोजनका लागि बनाउन लागिएको हो । ऋणमा रहेको तुलसीपुर उपमहानगरले जनताका स-साना समस्या हल नगरी महत्वाकांक्षी काम सुरु गरेको भन्दै आलोचना भइरहेको छ ।

नागरिकको समस्या हल गर्नु भन्दा पनि जनप्रतिनिधिहरु चर्चामा आउनका लागि महत्वकांक्षी योजनाहरु बनाउँदा अहिले देश समृद्धि भन्दा पनि बबार्दीतर्फ गइरहेको दाङको तुलसीपुरका वासीन्दाको भनाइ छ ।

तुलसीपुर बजार आउनका लागि राम्रो सडक नभएको अवस्थामा ट्रेड टावर निर्माणको कुनै औचित्य नभएको उनीहरु बताउँछन् । ऋणका कारण कर्मचारीहरुले तलब खान नपाएको अवस्थामा करोडाैंको लगानीबाट टावर बनाउन नहुने उनीहरुको तर्क छ ।

अरनिको डिजाइनर्स प्रालिले बहुउद्देश्य व्यापारिक भवन तुलसी ट्रेड टावर निर्माणका लागि करिब २७ करोड रुपैयाँ लाग्ने गरी याेजना बनाइएकाे थियो । कुल लागत मध्ये ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको हो ।

अण्डरग्राउण्ड पार्किङसहित निर्माण गर्न लागिएको टावरको गत चैत्र महिनामा निर्माण कम्पनीले सम्झौता गरेपनि वैशाखमा निर्वाचनको आचारसंहिता लगायतका कारणले अहिले निर्माण सुरु भएको हो । उपमहानगरको कार्यालयसँगै टासिएको १० कठ्ठा क्षेत्रफलमा तुलसी टावर निर्माण हुन लागेको छ । व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैङ्किङ कारोबार, सभाहल र रेष्टुरेन्ट सञ्चालनमा रहने छन् ।

एउटा पालिकामा एउटा व्यापारिक भवन बनाउने सरकारको नीति अनुसार तत्कालीन नगर प्रमुख घनश्याम पाण्डेको समयमा भएको निर्णय अनुसार नै टावर निर्माण थालिएको उपमहानगरको भनाइ छ । बजारको प्रवर्द्धन तथा नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले टावर निर्माण हुन लागेको नगर प्रमुख टिकाराम खड्का बताउनुहुन्छ ।

विकास अपरिहार्य विषय हो । तर यसका लागि साझा सहमति पनि आवश्यक हुन्छ तसर्थ नगरपालिकाहरुले प्राथमिकताका विषयलाई महत्व दिंदै स्थानीयको पनि मन जित्ने गरी विकासका काम अगाडि बढाउनुउचित हुन्छ ।