२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


बजेट अभावमा राष्ट्रिय विभूती अरनिको शालिक अलपत्र


130
Shares

काठमाडौं । नेपालको मौलिक कलालाई चीनमा स्थापित गराउने राष्ट्रिय विभूति अरनिको शालिक बनाउने योजना बजेट अभावमा अलपत्र परेको छ । कोटेश्वरदेखि चीनको सीमावर्ती तातोपानी जोड्ने सडकलाई अरनिको राजमार्ग नामाकरण गरिएपनि भौतिक चिनारीका लागि शालिक बनाउने एक दशकअघिको अवधारणा पूर्णता नपाई थन्किएको हो ।

देशलाई कलाका माध्यमबाट चिनाउने स्वनामधन्य राष्ट्रिय विभूति अरनिकोले नेपालका लागि गरेको योगदानबाट हरेक नेपाली परिचित छन् । विद्यालय तहको पाठ्यपुस्तकमा समेत उल्लेख अरनिको योगदान अहिले पनि चीनका विभिन्न ठाउँमा बनेका नेपाली शैलीका मन्दिर र टुँडाल साक्षी बनेर उभिएका छन् ।

यिनै प्रतिभाको योगदान सम्मान गर्न शालिक बनाउने कामको दायित्व सरकारी स्वामित्वको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले लियो । यद्यपि बजेट अभावका कारण त्यो काम अलपत्र अवस्थामा पुगेको छ । शालिक तयार पार्न जुटाइएको आवश्यक सामाग्री प्रतिष्ठानको मुख्यालयमा बेहाल अवस्थामा देखिन्छ । सालिक निर्माण गर्न ४५ लाख रुपैयाँ आवश्यक पर्नेभएता पनि त्यो रकम अफैं प्राप्त गर्न नसकेको ललितकला प्रज्ञा प्रतिष्ठानका उप प्रशासन प्रमुख कमलमणि काफ्ले बताउनुहुन्छ ।

अरनिको शालिक बनाउन कलाकारबीच प्रतिस्पर्धा गराइयो । प्रतिस्पर्धामा झापाका कलाकार गंगाधर सारु छानिए । यो अभूतपूर्व अवसर पाउँदा उनको खुसीको सीमा रहेन । तर सफलताको कडी ठानेको यो सौभाग्यबाट वञ्चित हुँदा कलाकार सारुको मन कुँडिएको छ । रकमको कारण काम पुरा गर्न नपाउँदा नराम्रो लागेको कलाकार गंगाधर सारु बताउनुहुन्छ ।

एक दशकमा धेरै विभागीय मन्त्रीदेखि प्रतिष्ठानमा थुप्रै पदाधिकारी फेरिए । पटकैपिच्छे उनीहरुले यो पुनीत कामका लागि सहयोगको बचन दिए । तर, काम एक पाइला अघि बढेन । बरु यत्र, तत्र, सर्वत्र छरिएका निर्माण सामाग्रीले प्रतिष्ठानका पदाधिकारीलाई गिज्याउँछ । देशको प्रतिष्ठासंग जोडिएको काम गर्न नपाउँदा उनीहरु खिन्न छन् । काम बिचमा नै रोकिँदा निरास भएको ललितकला प्रज्ञा प्रतिष्ठानका उप प्रशासन प्रमुख कमलमणि काफ्ले बताउनुहुन्छ ।

देशको कलात्मक इतिहाससँग जोडिएका विभूतिप्रति समर्पित यो कर्म सबै नेपालीका लागि गौरबको विषय हो । यस संवेदनशील विषयमा सरोकारवाला निकाय गम्भीर हुन आवश्यक छ ।