
काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मिति तय भएसँगै सबै राजनीतिक दलको ध्यान त्यतातर्फ गएको छ ।
सत्तारुढ दलहरु खासगरी नेकपा एमाले र माओवादी केन्द्रका साथै र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले आन्तरिक रुपमा राष्ट्रपति निर्वाचनको तयारी गरिरहेका छन् । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो समय दैनिकजसो भेटघाट हुने गरेको छ । बुधवार दुबै नेता राष्ट्रपतिको विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्र(सत्ता गठबन्धनको संयन्त्र) को बैठकमा छलफल गर्न सहमत भएका थिए ।
सोही बमोजिम आज बस्ने संयन्त्रको बैठकमा राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुन सक्ने प्रधानमन्त्री निकट स्रोतको भनाई छ । दाहाल प्रधानमन्त्री बन्दा एमालेको राष्ट्रपति बन्ने सहमति भएको एमालेका नेताहरुको दाबी छ । तर माओवादीका नेता भने एमालेलाई राष्ट्रपति दिने बारेमा लिखित सहमति नभएको बताउँछन् । उता प्रधानमन्त्री दाहाललाई गत पुस २६ मा विश्वासको मत दिएको कांग्रेस माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाएर गुन तिर्ने विश्वासमा छ । माओवादीले राष्ट्रपतिमा सबैको सहमति हुने साझा उम्मेदवार राष्ट्रपति बन्नु पर्ने बताउँदै आएको छ ।
यसै सन्दर्भमा प्रतिनिधि सभामा १४ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रपतिको उम्मेदवारबारे खुलेको छैन । संवैधानिक राजतन्त्रको वकालत गर्दै आइरहेको राप्रपाले राष्ट्रपतिको उम्मेदवारमा आफूले छुट्टै उम्मेदवार खडा गर्ने या सत्ता गठबन्धनले उठाएको उम्मेदवारलाई समर्थन गर्ने भन्ने कुरामा स्पष्ट खुलेको छैन । कतिपयले राप्रपाले संवैधानिक राजतन्त्रका विषयमा कुरा उठाउँदै आएकाले राष्ट्रपतिको निर्वाचनमा भाग लिन नहुने बताउँदै आएका छन् । तर राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भने कतिपय असन्तुष्टिका बावजुद वर्तमान संविधान र संवैधानिक व्यवस्थामा सबैसंग सहकार्य गरेर अघि बढ्ने आफूहरुको नीति भएकाले राष्ट्रपतिको निर्वाचनमा राप्रपाले भाग लिने बताउनुहुन्छ ।

श्रेष्ठले भन्नु भयो –“ हामी सत्ता गठबन्धनका राष्ट्रपति उम्मेदवारलाई मत दिन्छौ,वर्तमान संविधान र संवैधानिक व्यवस्थामा सहकार्य गरिरहेका छौं “।
विगतमा पनि संघीयता र गणतन्त्रको विरोध गर्दै आइरहेको राप्रपा त्यसबाट आफ्नो अडान विपरित प्रदेश लगायत संघीय सरकारमा सहभागी छ । राप्रपामा पार्टीलाई लाभ हानी भन्दा पनि नेताहरुको आफ्नो व्यक्तिगत स्वार्थका आधारमा अगाडि बढाउने गरेको आरोप लाग्ने गरेको छ । उसले सरकारमा जाँदा पनि आफ्नो एजेण्डा स्थापित गर्न सकेको छैन् ।संघीय सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहित ४ जनाको सहभागिता रहेको छ ।
राप्रपाले आफ्नो वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र र उदारवादलाई लिएको छ । राप्रपाको एजेण्डा हिन्दु धर्म र संवैधानिक राजसंस्था छ । आगामी फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गर्नेगरी निर्वाचन आयोगले मिति तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्