६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


कास्कीको दुर्गमका विद्यार्थीले बल्ल शुद्ध खानेपानी पिउन पाए


91
Shares

पोखरा । कास्कीको दुर्गम माछापुच्छ्रे गाउँपालिकाे धितालमा रहेको भूमेश्वर माध्यमिक विद्यालयमा लामो समयपछि खानेपानीको सुविधा पुगेको छ ।

विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीहरु तिर्खा मेटाउन १-२ घण्टा हिड्नु पर्ने बाध्यता थियो। स्थानीयवासीन्दाको मागपछि रोटरी क्लब अफ महाराजगञ्जले विद्यालयमै शुद्ध खानेपानीको व्यवस्थापन गरीदिएपछि विद्यार्थीले शुद्ध खानेपानी पिउन पाउने भएका छन् । रोटरी क्लब महाराजगञ्जकी अध्यक्ष मञ्जु गुरुङले दुर्गमको विद्यालयमा पिउने पानी फिल्टरेशन प्लान्टसहित बालबालिकालाई खेलकुदका सामग्री र स्कुलको संरचना निर्माणका लागि सहयोग गरेको बताउनुभयो ।

विद्यालयको प्राङ्गणमा खानेपानी पुगेपछि र तिर्खा मेटाउन टाढा जानु पर्ने बाध्यताको अन्त्य भएपछि विद्यार्थी र शिक्षक खुशी भएका छन् । दुर्गम क्षेत्रमा रहेको भुमेश्वर विद्यालयका विद्यार्थीहरु आधारभूत सेवा पाउनबाट समेत वञ्चित भएका थिए ।

विद्यालयमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आँखाका ३ सय २० जनाको निःशुल्क परीक्षण गरी २ सय १० थान चश्मा वितरण गरिएको थियो । दन्तरोग विशेषज्ञद्धारा १ सय ७० जनाको निःशुल्क परीक्षण गरी परामर्श समेत दिइएको रोटरी क्लब महाराजगञ्जका अध्यक्ष इलेक्ट कृष्ण गुरुङले बताउनुभयाे ।