२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


सर्लाहीमा बालिका सम्मेलन हुने


26
Shares

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालिका सम्मेलन गर्ने भएको छ ।

आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागिएको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताउनुभएकाे हाे । सम्मेलन चन्द्रनगर गाउँपालिका-७ काे नाढीमन ताल परिसरमा हुने उहाँले बताउनुभयाे ।

सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै नेपालका बालिकालाई सक्षम बनाउने उद्देश्यले बालिका सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाको सहभागिता रहने भएकाे छ । त्यसैगरी तीनवटै तहका बाल विवाह, दाइजो र शिक्षासम्बन्धी सवाल केन्द्रित प्राविधिक संवाद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

बालविवाह र दाइजो विरुद्धका अभियान्तालाई सम्मान, प्रत्येक विद्यालयमा बालविवाहको अन्त्य विषयक प्रतियोगिता गरिने भएकाे छ । उत्कृष्ट आर्ट पेन्टिङको प्रदर्शनी र प्राविधिक वैज्ञानिक सत्रलाई सम्मेलनको मुख्य आकर्षणका रुपमा प्रस्तुत गरिने पालिकाले जनाएको छ।

मधेस प्रदेशमा बालविवाह र दाइजो प्रथा विकृतिका रुपमा रहेको छ । जसका कारण घरेलु हिंसाका घटना अत्यधिक हुने गरेको सरोकारवालाहरुले बताएका छन् ।