काठमाडौं, भदौ १३ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रको सहयोगबिना उच्च अंकको आर्थिक वृद्धि हासिल नहुने बताएका छन् ।
निजी क्षेत्रसँग सहकार्य गरेर नै मुलुकको आर्थिक समृद्धि हासिल हुने विषयमा सरकार प्रस्ट रहेको उनको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १९औं स्थापना दिवसको अवसर पारेर बुधबार राजधानीमा गरिएको कार्यक्रममा मन्त्री खतिवडाले लगानीमैत्री वातावरणका लागि सरकारले आवश्यक ऐन–नियम बनाइरहेको बताए ।
वित्तीय संघीयता कार्यान्वयन भएको थोरै समय भएकाले तत्काल सरकारको प्रभावकारिताको विषयमा प्रश्न उठाउन जायज नभएको उनको भनाइ थियो ।
अर्थतन्त्र खतरामा नभएको पनि उनले प्रस्ट पारे ।
आन्तरिक उत्पादन बढाइ व्यापारघाटा कम गर्नेतर्फ पनि सरकारले ध्यान दिइरहेको उनले बताए ।
आफू राजश्व बढी उठ्यो भनेर गर्व गरेर बस्ने अर्थमन्त्री नभएको उनले उल्लेख गरे ।
अर्थतन्त्र बिग्रिएको भनेर गलत प्रचार भइरहेको भन्दै उनले अर्थतन्त्रमा सुधार आउँदै गएको दाबीसमेत गरे ।
निजी क्षेत्रले संघीयताले निजी क्षेत्रसहित सर्वसाधारणसमेत करको मारमा परेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्थीर सरकारबाट धेरै अपेक्षा गरिएपनि सोअनुसार काम हुन नसकेको भन्दै आलोचना गरिन् ।
उनले बढ्दो व्यापार घाटा र रोजगारी अभिवृद्धि चुनौतीपूर्ण रहेको बताइन् ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राज्यले धेरै कर संकलन गरेपनि उपयोग नभएको बताए ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रमैत्री नभएका ऐन संशोधन गर्नुपर्ने बताए ।
सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले अर्थतन्त्र बुझेको अर्थमन्त्री पाउँदा गरेको अपेक्षामा तुसारापात भएको टिप्पणी गरे ।









प्रतिक्रिया दिनुहोस्