भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपाली कांग्रेसले प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेको बताउनु भएको हो ।
आज रफत सञ्चार क्लब भक्तपुरको १३ औ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले प्रमुख प्रतिपक्षी दलले सरकारलाई समर्थन गर्ने कहि नभएको चलन कांग्रेसले ल्याएको बताउनु भएको हो ।
बिजुक्छेँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दलले कहिल्यै सरकारलाई समर्थन गर्दैन, प्रमुख प्रतिपक्षी दल त छायाँ सरकारको रुपमा रहेर सरकारको गतिविधिलाई नियाल्नु पर्छ, सरकारका गलत कामलाई खबरदारी गर्ने, रोक्ने काम प्रतिपक्षको हो, सरकारको गलत कामलाई रोकेर देशलाई जोगाउने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्षी दलको हो तर सत्ताको माहेले कांग्रेसले त्यो जिम्मेवारी नै छाडिदियो।”
उहाँले प्रतिपक्ष पनि हुँ भन्ने अनि सत्तामा भागवण्डा पनि खोज्ने कांग्रेसको नीति नै गलत भएको बिजुक्छेँको भनाइ छ । उहाँले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाललाई कम्युनिष्ट नै होइनन् भन्दै कम्युनिष्ट भन्ने कांग्रेस नेतृत्वको सरकारमा जाने कम्युनिष्ट हुन नसक्ने भन्दै आलोचना गर्नु भयो ।
उहाँले पार्टीको नाम समाजवादी भए पनि कुन समाजवाद ल्याउन खोजेका हुन्, नेता नेपाल प्रष्ट नभएको भन्दै अरुलाई आरोप लगाएर गाली गर्ने नेता नेपालमा आफैँमा ती कुरा लागू भएको बताउनु भयो ।
उहाँले कांग्रेससँग मिल्ने गरि गतिविधि अगाडि बढाएको भन्दै नेकपा एमालेलाई भाइ कांग्रेस भएको आरोप लगाउनु भयो ।
संसदमा सांसदलाई बोल्न नदिनु गलत भएको भन्दै नेमकिपा अध्यक्ष बिजुक्छेले भन्नुभयो, “राप्रपाले हिन्दु राज्य र राजाको पक्षमा बोल्यो भन्दै संसदमा सभामुखले रोक्नु गलत हो, संसदमा बोल्न पाउनु पर्छ, चित्त नबुझेका कुरा जवाफ दिने हो, बोल्न रोक्न पाइदैन ।”
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धन कसरी टिकाउने, राष्ट्रपतिको निर्वाचनलाई पुस १० को सहमति अनुसार कार्यान्वयन गर्ने र राजनीतिक स्थिरतालाई कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताउनु भयो ।
प्रधानमन्त्री दाहाललाई सुझाव दिन्छु भन्दै ज्ञवालीले भन्नुभयो, “कुन र कस्तो कठिन अवस्थामा एमालेले प्रचण्डलाई ल्याएर देशको राजनीतिक नेतृत्व गर्ने गरि सरकारको नेतृत्वमा ल्याएको थियो, त्यो पृष्ठभूमिलाई हेक्का राखेर परिपक्क नेतृत्व गर्नुस् त्यो मेरो सुझाव हो, इतिहासले पटक पटक अवसर दिँदैन, यो अवसरलाई देशको हितमा राखेर पुस १० को सहमति पालना हुनुपर्छ, सहमतिबाट दायाँबायाँ गर्ने चेष्टा गर्नु हुदैन ।”
उहाँले नेपाली कांग्रेस सत्ताबाट बाहिर रहदाँको छटपटि पोखिरहेको भन्दै सत्तामा हिस्सेदारी पनि खोज्ने अनि प्रतिपक्षमा रहन पाउँ पनि भन्ने यो कस्तो छटपटी हो भन्दै प्रश्न गर्नु भयो ।
मन्त्रालयको आकार घटाउने, खर्च कटौती गर्ने, सरकारको न्यूनतम साझा कार्यक्रम लगायतबाट जनतामा अहिलेको सरकारबाट आशा पलाइरहेको बेलामा राष्ट्रपतिको चुनावलाई लिएर राजनीतिक अस्थिरता निम्त्याउदै राजनीतिक चलखेल बढिरहेको चर्चा गर्दै ज्ञवालीले भन्नुभयो, “देशमा बढ्दो राजनीतिक चलखेल बढेको, बाह्य हस्तक्षेप बढेको छ, यसले नेपाल भू–राजनीतिक द्वन्द्वतर्फ फस्दैछ, यसले लोकतन्त्रनै धरापमा पर्ने खतरा बढेको छ ।”
नेपाली सञ्चार माध्यमबाट सम्प्रेषित कतिपय समाचारमा विश्वसनियताको खरेडी लागेको भन्दै उहाँले कतिपय समाचार हेर्दा चाहिने भन्दा बढी पूर्वाग्रह राखेर समाचार सम्प्रेषण गरेको र दोहन गर्ने ढंगले आएकाले त्यस्ता कार्य रोकिनु पर्नेमा जोड दिनु भयो ।




प्रतिक्रिया दिनुहोस्